Latest Update

कार्यस्थलमा हुने दुर्व्यवहारको साक्षीको कलमबाट...........

 आज २०२१ को डिसेम्बर १२ तारिख अर्थात महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन । यो अभियानको दौरान हामीहरुले पुरुषले महिलामाथि गर्ने दुर्व्यवहारको बिषयमा मात्र केन्द्रित भएको देख्यौँ । यो अभियानको सुरुवाती दिनहरुदेखि नै महिलाहरुले सामना गर्नुपरेको दुर्व्यवहार तथा बिभिन्न हिंसाहरुको बिषयमा चर्चा छलफल तथा आगामी यात्रा कसरी तय गर्ने भनेर निष्कर्ष निकाल्ने तथा रणनिति तय गर्ने गरिन्छ ।

कार्यस्थलमा हुने हिंसा बिशेषतः पुरुषले भन्दा महिलाले बढी सामना गरिरहेका हुन्छन् भन्ने आम बुझाई छ । तर अपवादमा पुरुषहरु पनि महिलाबाट हिंसा सहन तथा दुर्व्यवहारको सामना गर्न विवश छन् । कार्यालयको कामकै सन्दर्भमा कुरा गर्ने हो भने पनि उपल्लो तहमा बसेका व्यक्तिहरुबाट तल्लो तहका कर्मचारीहरु दुर्व्यवहारको शिकार हुन पुग्दछन् । 

पुरुष वा महिला कर्मचारी जसले पनि हिंसाको सामना गर्दै गर्दा कार्यगत वा कार्यालयगत हिंसाको पनि सामना गर्नुपरिरहेको हुन्छ जुन उपल्लो तहमा रहेका महिला वा पुरुषबाट भइरहेको हुन्छ। तर कहिल्यै हामीले यो सोँचेका छौँ कि लैङ्गिक रुपमा मात्र नभई अपाङ्गता भएको कारण, तल्लो जाति भएको कारण, अनि अशक्तताको कारण पनि कार्यालयमा दुर्व्यवहार भइरहेको हुन्छ भनेर? 


हुन त आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि हो । अनि नेपालको संविधान कानुन तथा विभिन्न अन्तराष्ट्रिय सन्धी एवं सम्झौताहरुले व्यक्तिको आत्मसम्मानको अधिकारको सुनिश्चित गरेको छ । तर कार्यालयमा हुने बिभिन्न प्रकारको दुर्व्यवहार तथा हिंसाले हामीलाई नराम्रो अनुभव गराउँछ भने कार्यमा हुने एकाग्रतामा पनि कमी ल्याउँछ ।

अझ साङ्ग व्यक्तिबाट अपाङ्गता भएका व्यक्तिहरुको क्षमता माथि प्रश्न उठाउने, विभिन्न आरोप लगाउने,  मनगणन्ते बिषयहरुमा कार्यालयभित्रै अन्तरक्रिया गर्ने लगायतका कार्यहरु गरि उनिहरुको मनोबल गिराउने र सामाजिक रुपमा सहभागि हुन नसक्ने वातावरणको सृजना गर्ने लगायतका दुर्व्यवहारहरु अपाङ्गता भएका व्यक्तिहरुले सामना गरिरहेका लेखकले कयौँ पटक महसुस गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुले काम प्रति देखाएको इमान्दारिता र निष्ठाको अवमूल्यन गर्दै उनिहरुलाई पटक पटक माफि माग्नुपर्ने स्थितिको सृजना गर्ने, विभिन्न किसिमका धम्कीहरु दिने, उनिहरुको बिचारको सम्मान तथा स्वीकार नगर्ने तथा उच्च कुलिन वर्गीय सोँचको हेपाहा र दमन गर्ने उच्च मनसायबाट प्रेरित भई निरन्तर दुर्व्यवहारको सामना गर्नुपर्ने परिस्थितिलाई पनि अपाङ्गता भएका व्यक्तिहरुले सहन र सामना गर्न बाध्य भएको अवस्थालाई लेखकले नजिकबाट नियाल्ने मौका पनि पाएको थियो ।

त्यो पात्रले आफ्नो अपाङ्गताको कारण कार्यालयमा कार्यरत कर्मचारीहरुबाट दुर्व्यवहार र निरन्तर धम्कीको सामना गर्नुपरिरहेको थियो । उसले जागिर छोड्न सक्थेन किनकी उ माथी उ लगायत बाँकी ४ जनाको परिवारको जिम्मेवारी पनि थियो र उसले बाँकी प्रगति गर्न पनि सक्थेन किनकी उसलाई क्षमता अभिवृद्धि गराउनका लागि कार्यालयमै उपलब्ध स्रोत साधन पनि सहज रुपमा उपलब्ध गराइन्थिएन । लेखकले उ माथि भएका दुर्व्यवहारको लागि अवलोकन गरेर त्यसलाई सुधारका लागि नीतिहरु पनि पेश गरेको थियो तर त्यसको अनुमोदन तथा कार्यान्वयन हुन सकेन । 

विशेषतः साङ्ग व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरुले पनि पुँजीसँग सिपलाई दाँज्दा सिपवान अपाङ्गता भएको व्यक्तिको सिपको सट्टा र उसको चरित्र एवं वैयक्तिक जिवनसँग सम्बन्धित विषयलाई लिएर हाँसोको पात्र बनाइएको लेखकले नजिकबाट अनुभूति गर्यो । खासगरि राजनैतिक रुपमा उत्प्रेरित व्यक्तिहरुबाट नै अपाङ्गता भएका व्यक्तिहरुले धेरैजसो हिंसाको सामना गरेको लेखकले महसुस गर्यो । राजनिती गर्ने व्यक्तिमा समानुभूति नभई स्वार्थ प्रेरित भइदिदा अपाङ्गता भएका व्यक्तिलाई आफ्नो सत्ताको भर्याङ बनाएको प्रष्ट देखेको लेखकले सो परियोजनाबाट बाहिरिएपछि मात्रै लेख्ने आँट गर्यो जुन यस ब्लगमा अभिव्यक्त गरिएको छ ।

कार्यस्थलमा कार्यरत कर्मचारीहरु (अपाङ्गता भएका व्यक्तिहरु समेत) को कार्यप्रतिको संवेदनशिलता बुझ्न सकिएन भने कुनै पनि परियोजना वा गतिविधी वा संस्थागत कार्यहरु असफल हुँदै जान सक्छ । कुनै एउटा व्यक्ति केन्द्रित भएर गरिने दुर्व्यवहारले समग्र कार्यस्थलकै वातावरणमा असर पुर्याउँदछ । सोही कारण पनि अपाङ्गता भएका व्यक्तिहरु सर्वप्रथम त रोजगारीको अवसरबाट बञ्चित रहेका छन् भने दोस्रो कुरा उनिहरुको कार्यस्थलमा भएको वातावरणीय अवरोधका कारण सो रोजगारबाट बिमुख भइरहेका छन् । यसप्रकार दुर्व्यवहार जानेर वा नजानेर जसरी गरिएतापनि यसको बिषयमा समिक्षा नगरी निरन्तरता दिइरहनु अपराध बराबर हो । विभिन्न निकायले मानव संशाधनको प्रयोग गरेपछि समय समयमा उनिहरुको कुरा पनि सुन्ने र सोही अनुसार व्यवहार र नितीहरु परिवर्तन गर्दै जानुपर्छ । तर दुर्व्यवहारको निरन्तरता दिनु भनेको मानिसको मानविय सोँच र मानसिकताको उपज हो भन्न सकिन्छ । अझै उच्च कुलिन वर्गिय सोँच भएका कार्यालय वा परियोजना वा कार्यक्रम प्रमुख भएमा उनिहरुले मानव संशाधनलाई नोकर र आफूलाई मालिकको रुपमा स्थापित गर्दछन् जुन आजको शताब्दीमा सम्वेदना र विवेक भन्दा बाहिरको कुरा हो । 

निष्कर्ष

सबै मानिस बिबिधताले भरिपुर्ण रहेको छ । कोही बहिर्मुखी छ त कोही अन्तर्मुखी । कोही कमलो हृदयको छ त कोही कठोर हृदयको । कोही इमान्दारितालाई नै आफ्नो सबल पक्ष ठान्छ त कोही काम ठग्नु र अरुलाई काम लगाउनुलाई सबल ठान्छ । कोही अरुलाई हेप्दा र दुर्व्यवहार गर्दा आनन्द मान्छ त कोही अरुमाथी भएको दुर्व्यहारको बिरुद्ध आवाज बुलन्द गर्दा । यसकारण मानवका हरेक बिबिधता छन् । कार्यालयगत  मर्यादा र सीमाहरु छन् । यद्यपी सबै सीमा काटेर जब मानिसले सबैभन्दा ठूलो र आफुले गरेको सबै ठिक भन्ने मानसिकतामा पुग्दछ तब व्यक्तिले अर्को जुनसुकै व्यक्ति, लिङ्ग, जातजाति, पेशा तथा अपाङ्गता भएका प्रति हिंसाको सुरुवात गर्दछ र जसको सुरुवात दुर्व्यवहारबाट हुन्छ । ती वर्ग, समुदायका मान्छेलाई कमजोर देखाएर उसको स्थिति प्रति दया तथा सहानुभुतिको अवस्था सृजना गरि पिडितलाई अन्यौलताको अन्धकारतर्फ धकेल्ने प्रयास गरिन्छ । यसरी अपाङ्गता भएका व्यक्तिहरुले सबै व्यक्तिको सबै बिषयलाई सहन गर्दागर्दै पनि कार्यालयमा आत्मसम्मान पुर्वक काम गर्ने मौका पाएका हुँदैनन् । आगामी दिनमा महिला सहित अपाङ्गता भएका व्यक्तिले पनि कार्यस्थलमा सामना गर्ने हिंसाको बारेमा बोल्ने र यसबारे लेख्न नछोडौँ । सबैको बिबिधताको सम्मान गरौँ । प्रतिनिधी कथाका पात्रहरुले जस्तै कतिपय अवस्थामा अपाङ्गता भएका व्यक्तिहरुले तिव्रतर दुर्व्यवहारको सामना गरिरहेका छन् । जुन खेदजन्य छ । यस बिषयमा सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

No comments