दि फ्लप मिसन माघ आठ
संविधान सभाको मिसन वि.सं. २००७ देखी सुरु भएको र आन्दोलन गरिदै आएतापनि हालसम्म कुनै पनि उपलब्धि प्राप्त हुन सकेको छैन । जनताको नाममा गरिन लागिएको परिवर्तनले जनतालाई नै ध्वस्त पार्ने यो कस्तो खालको परिवर्तन गर्न खोजिएको हो ? आम जनताहरु अनभिज्ञ रहेका छन । जनताहरु काम गरेर खान पाउने लोकतन्त्र खोजिरहेको यो सन्दर्भमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुले यो फ्लप मिसन बन्द र हड्ताल जस्ता जघन्य अपराध किन गरिरहेका छन ? दलमा आबद्ध रहेर जनताको भविष्यमाथि कुठाराघात गर्नेहरुलाई जनताको यक्ष प्रश्न रहेको छ । बन्द गर्नुको पनि हद हुन्छ । जनताहरु यो बन्द कहिल्यै पनि बेहोर्न नपरोस भन्ने चाहन्छन् ।
जनताहरुलाई अधिकार बिनियोजन गर्नका लागी संबिधान सभामा पुगेका माननियलाई यति पनि हेक्का भएन कि फेरी फर्किएर जनताको माझमा जानुपर्छ भनेर ।
संविधान सभाको पहिलो निर्वाचन भाडभैलोमा नै बिताए पनि दोस्रो निर्वाचन पश्चात् गठन भएको यो संविधान सभाले गरेको कार्यहरुप्रति कुनै तुक नभएको सहजै अनुमान लगाउन सकिन्छ । जनादेशको मुल मर्म र भावना विपरित कार्यहरुबाट जनताका भावनाहरु कदापि सम्बोधन हुन सक्दैन । शान्ति , स्थिरता, अमनचयन र विश्व अनुकुलको उपलब्धि हासिल गर्दै बिकासको प्रगति पथमा लम्किने चाहना आम सर्वसाधरणको हुन्छ । यसमा राजनितिक हस्तिहरु सचेत बन्न जरुरी छ । समयसँगै चल्न नजान्ने र जनतको मत बुझ्न नसक्ने शासक वर्गले अब राजनितिबाट हात धुन जरुरी भइसक्यो ।
देशमा अराजकता र बितण्डता मच्चिरहँदा राजनैतिक दलका शीर्ष नेताहरुले के हेरेर बसिरहेका छन् ? र यो संक्रमण काललाई किन लम्ब्याइरहेका छन् ? यो गम्भिर प्रश्नको नेपाली जनताले बिश्लेषण गर्ने बेला आएको छ । आज हरेक क्षेत्रमा ताण्डव देखाइरहेका राजनैतिक दलहरुले अब जनतालाई खुशी बनाउने अरु नयाँ नयाँ ताण्डव र झाँकीहरु प्रदर्शन गर्न जरुरी भइसकेको छ । जनताहरु अव कसैको पछि लाग्नेवाला छैनन् । गत माघ ६ गतेको मिर्मिरेमा नेपालको संविधान सभामा भएको हंगामा एक हेर्न लायक परिदृश्य थियो । जुन हंगामाका मुख्यपात्रहरु बिभिन्न राजनैतिक दलका शीर्ष नेताहरु थिए भने सहायक पात्रहरु सभासदहरु थिए । भिलेन बन्न पुगेका पुर्व मन्त्रिहरु रहेका थिए । नेपालको इतिहासमा मध्यरात एक कालरात्रीको रुपमा रहेकोले आज पनि सो इतिहास नदोहोरियोस भन्दै एमाओवादि नेता डा. बाबुराम भट्टराइले एक्काको तुरुप फ्याकेको करिब आधा घण्टा बित्न नपाउँदै सत्ताधारी दलहरु मिस्सि र बादशाहको रुपमा एक्काको सिकार भएका थिए । रिस र आवेगहरुलाई आफ्नो नियन्त्रणमा राख्न नसकेपछि सभासदहरुले नाङ्गो नाच प्रदर्शन गरेका थिए । नेपालको संवैधानिक इतिहासमा यति निकृष्ट र निच कार्यको एउटा इतिहास बनेको छ जुन नजिरको रुपमा स्थापित नहोस भन्ने आम चाहना रहेको छ । आजको मिसनमा संविधान प्रदान हुनपर्छ न की सत्ता प्रदान । सभामुखद्धारा नियम उल्लंघन गरिएको थियो भने उठेर भद्र बिरोध गर्ने अधिकार दलहरुलाई थियो यद्यपि उनिहरुद्धारा गरिएको ताण्डवले आगामी निर्वाचन उनिहरुप्रतिको जनविश्वास घट्ने र भारी मात्रामा जनमत कम हुने निश्चित छ । संविधान निर्माण भएपछि आफ्नो अधिकार प्राप्त हुन्छ भन्ने आशामा बसेका नेपाली जनताहरुलाई अब भने हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै भएको छ ।
पहिचानको आधारमा राज्यको पुनसंरचना गर्नका लागि मतभेद गरेर आ आफ्नो डम्फु बजाउन व्यस्त दलहरुले जातिगत वा सम्प्रदायगत पहिचानका आधारमा राज्यको पुनर्संरचना गर्दा राष्ट्रिय पहिचान नै नामिट हुने बिषयतिर ख्याल राख्नुपर्छ । अब राजनैतिक दलहरुले देशलाई कतातिर लैजाने, आजको आवश्यकता के हो ? र भावि पुस्ताले यसको विश्लेषण कसरी गर्छन् भन्ने सोच्न जरुरी भइसकेको छ । अब जनताहरु सचेत भइसकेका छन् । उनिहरु न कसैसँग डराउछन न हिम्मत नै हार्छन । उनिहरु मात्र संविधान चाहन्छन् । तर बुझ्न के जरुरी छ भने जनताहरुले अब एक एक गरि हिसाबकिताब चुक्ता गर्नेछन् वितण्डा मच्चाउने मिसनमा होमिएका दलहरुसँग जुन आगामी निर्वाचनमा देखिन्छ । जनताहरु कसैको दास होइनन् , उनिहरु त यस देशका सर्वेसर्वा हुन् कसैले पनि जनतासँग जोरी नखोजे हुन्छ , होइन भने ति सवै दलहरुको मिसन एक दिन फ्लप हुनेछ ।
No comments